News Headlines

एनआरएनए इजरायलद्वारा आयोजित तीज सांगितिक उत्सव भव्य रुपमा सम्पन्न

Posted on Oct 18 2016

एन आइ न्यूज , इजरायल ।

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा देश विदेशमा रहेका नेपाली नेपालीहरूले  विविध कार्यक्रमहरुको आयोजना गरी तीज मनाउने क्रममा इजरायलमा रहेका नेपालीहरुले  पनि भव्य कार्यक्रमको आयोजना गरी हरितालिका तीज मनाएका छन् ।
इजरायलवासी नेपाली दिदीवहिनीहरुलाई मनोरञ्जन दिलाउने अभिप्रायले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजना तथा अन्य विभिन्न १४ वटा संघ संस्थाहरुको  सह आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम हरितालिका तीज उत्सव २०७३  सम्पन्न भएको छ ।चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगर, चर्चित लोक दोहोरी गायक अमृत खाती, गायिका जुना प्रसाई तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित कमेडी शो ह्वाट द फ्लप शोका प्रस्तोता तथा कमेडियन सन्दिप क्षेत्रीको उपस्थितीमा उल्लेख्य नेपालीहरुको जमघटकाविच हरितालिका तीज उत्सव २०७३ सम्पन्न भएको हो ।
 
गैर आवासिय नेपाली संघ राष्ट्रिय समव्वय परिषद इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्व,इजरायलका लागि नेपाली कार्यवाहक राजदुत रामेश्वर प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कार्यक्रम प्रायोजक याद वेयाद म्यान पावर प्रालीकी प्रतिनिधी लेवाना, एनआरएनए आइसिसी सदस्य सुवास खरेल,एनआरएनए आइसिसीकी पूर्व सदस्य भगवती वस्नेत, इजरायली समाजसेवीहरु मिमी सम्युल लगायतका व्यक्तित्वहरुको विशेष अतिथ्यता रहेको थियो भने इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी तथा समाजसेवीहरु, प्राविधिज्ञहरुको उपस्थिती रहेको थियो ।

केही समय अघि निधन हुनुभएका पूर्व मन्त्री माननिय गोरे वहादुर खपांगी तथा गायक खेमराज गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरे लगत्तै  सभापती, प्रमुख अतिथि र  बिशेष अतिथिद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनुहुदै कार्यक्रमका संयोजक एनआरएनए इजरायलका वरिष्ठ उपाध्यक्ष विशाल ज्ञवालीले एनआरएनए इजरायललाई छाता संगठनको रुपमा स्थापित गर्न हरसम्भव कोसिस गर्ने आफूहरुले दिएको बाचा आज पुरा भएको बताउनुहुदै यसमा आफूहरुलाई अत्यन्तै गर्व महसुस भएको बताउनुहुदै यो साथले यहाँहरुले दिनुहुने सल्लाह सुझावलाई सदैव मनन गर्ने प्रतिवद्दता जाहेर गर्नुभएको छ । उहाँले जुन माया स्नेहका साथ कार्यक्रममा उपस्थित जनाउनुहुने दिदिवहिनीहरुलाई कार्यक्रममा स्वागत गर्दै व्यवस्थापनको क्रममा केही कमी कमजोरी भएको भए व्यवस्थापन टोलीको संयोजकको हैसियतले क्षमा प्रार्छि रहेको बताउनुभयो ।
 
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै प्रमुख अतिथी रामश्वर प्रसाद खनालले विदेशमा रहेर पनि नेपाली  महिलाहरुको पर्व तीजमा सम्पूर्ण इजरायलवासी नेपालीहरु जम्मा भएर पर्व मनाउने अवसर प्रदान गरेको र आफूहरु पनि उक्त अवसरमा उपस्थिती हुने मौका प्रदान गरेकोमा खुशी हुँदै  तीजको शुभकामना व्यक्त गर्नुभएको थियो । खनालले मुलुककै ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा यस किसिमको कार्यक्रमको आयोजना गरेर इजरायलबासी चेलीवेटीहरुलाई मनोरञ्जन प्रदान गराएकोमा आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती दिपक प्रसाद ओलीले  कार्यक्रमको समापन गर्नुहुदै यसअघि एनआरएले गर्दै  आइरहेका कार्यक्रमहरु उपयुक्त हलको अभाव, साउन्ड सिस्टमको समस्या लगायत विविध कारणहरुले जति सफल कार्यक्रम भएपनि असफल भएको अनुभुती हुने गरेको तथ्यलाई स्मरण गर्नुहुदै सम्पूर्ण इजरायलवासी नेपालीहरुको मायाले आज अत्यन्तै सुविधायुक्त भव्य हलमा समय घर्केको थाहै नपाइने गरी कार्य़क्रम सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापती ओलीले कार्यक्रम प्रायोजक याद  वेयादले लामो समयदेखि नेपालीहरुलाई सहयोग पुर्याउदै आइरहेको र यो कार्यक्रम सम्पन्न गर्न पनि याद वेयादको मुख्य भुमिका रहेको उल्लेख गर्दै याद वेयादप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै ओलीले कार्यक्रम सफल पार्न अहोरात्र खटिने आफ्ना सहकर्मीहरु, सहआयोजक संघ संस्थाहरु, मिडियाकर्मीहरु लगायत प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

इजरायलमा रही विभिन्न जघन्य  रोगहरुबाट प्रताडितहरुको आर्थिक  सहयोगको लागि आयोजना गरिएको उक्त कार्यक्रमको प्रारम्भमा हल अगाडि उपस्थित दिदीवहिनीहरुलाई नेपाली स्वादिस्ट खानाहरूको साथमा पारिवारिक वातावरणमा तीजको दर खुवाइएको थियो । दर खुवाउने कार्यक्रम सकिए लगत्तै औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो ।
दोश्रो चरणको कार्यक्रम अन्तर्गत बिबिध मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।  मनोरन्जनात्मक प्रस्तुतीहरूको समिश्रण रहेको दोश्रो चरणको कार्यक्रममा  अत्यन्तै वोझिलो र झन्झटिलो काम र यसकै कारण प्रायजसो व्यस्त जीवन विताइरहेका इजरायलबासी नेपालीहरु बर्षदिनको पिंडालाई चटक्कै विर्सिई नाचेका देखिन्थे ।  नेपाली  नारीहरूको महान पर्ब तीज प्रवासमै रहेर पनि आफ्नो घर आँगन साथिसंगी अनि माइतीको यादलाई बिर्साउने खालको थियो ।

उल्लेख्य  नेपाली तथा नेपाली भाषी भारतियहरुको उपस्थिती रहेको सो कार्यक्रममा नारीहरू राता पहेला, हरिया, रंगबिरङ्गी  सारी ,चुरा ,पोतेमा सजिएका थिए । उपस्थित सबैको मनमा उत्साह जगाउदै भरपुर मनोरन्जनको साथमा रातको  साढे २ बजे सम्म चलेको उक्त कार्य़क्रमको पहिलो चरणको कार्यक्रम एनआरएनए इजरायलका महासचिव तेन्जिङ शेर्पा र नयन सापकोटाद्वारा सन्चालन गरिएको थियो भने दोश्रो चरणको कार्यक्रम अन्तराष्ट्रिय कलाकार मञ्चका प्रेम शर्मा द्वारा सन्चालन गरिएको थियो ।