News Headlines

इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७३ भव्य रुपमा सम्पन्न

Posted on Apr 18 2016

एन आइ न्यूज इजरायल

नयाँ बर्षको अवसर पारी इजरायलमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यले गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) इजरायलको आयोजनामा विभिन्न ११ वटा संघ संस्थाहरुको सह आयोजना तथा इजरायली मेनपावर एजेन्सी याद वेयाद मेन पावर एजेन्सीको प्रमुख प्रायोजकत्वमा नेपालका चर्चित कलाकारहरुको जोडदार सांगितक प्रस्तुतीका विच इजरायलको तेलअभिवमा नयाँ बर्ष सांगितिक साँझ २०७३ सम्पन्न भएको छ ।

असहाय, दिनदुखी तथा घरवार विहिनहरुको सहयोगकोलागि च्यारेटी संकलनार्थ भारतिय टेलिभिजन जीटिभीबाट प्रसारण हुने चर्चित रियालिटी सो डान्स इन्डिया डान्स लिटिल च्याम्प्स तेस्रो संस्करणकी विजेता नेपाली चेली तेरिया मगर, चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेल तथा नबोदित गायिका मेलिना राईको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम पूर्व निर्धारित समयमै शुरु भएता पनि अत्याधिक दर्शकको चाप र हाहागना हल व्यवस्थापकको अनुचित ब्यबस्थापन, लापरवाही तथा निन्दनिय व्यवहारका कारण टिकट काटेका सिमित दर्शकहरुलाई समेत हलभित्र प्रवेश नदिदा केहि वेर कार्यक्रममा अवरोध उत्पन्न भएको थियो । आयोजकको केही समयको अथक प्रयास र इजरायली सुरक्षाकर्मीको सहयोगमा दर्शकहरुलाई कार्यक्रम हलमा प्रवेश गराइएको थियो । आयोजकले केही साता अघिदेखि नै अग्रिम टिकट वुकिङ गर्न गरेको अपिलका वावजुध पनि अत्याधिक टिकट वुकिङ गर्न नसकेका दर्शकहरु कार्यक्रम हल प्रवेशबाट बञ्चित भई फर्किन वाध्य भएका थिए भने कतिपय टिकट लिएका दर्शक पनि आक्रोशित भई फर्किएका थिए । आयोजकले आफ्नो मातृभूमीबाट आएका कलाकारहरुको प्रस्तुति हेर्ने ठूलो आशा बोकेर व्यस्त समयका वावजुध पनि कार्यक्रम हलसम्म आएर पनि फर्किन बाध्य दर्शकमा पर्न गएको असुविधाप्रति गहिरो दुःख प्रकट गर्दै क्षमा याचना गरेको छ ।

एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीको सभापतित्व नेपाली राजदुताबासका नव-नियुक्त काउन्सिलर तथा उपनियोग प्रमुख रामेश्वर पौडेलको प्रमुख आथित्यता साथमा उहाँकी धर्म पत्नी, श्रम विभागका निर्देशक जनक घिमिरे, नेपाली राजदूतावास इजरायलका अटाचे कमल कोइराला, एनआरएनए आइसीसी सदस्य सुवास खरेल, याद वेयाद मेन पावर एजेन्सीकी लेवाना र नेपाल टूर्स एण्ड ट्राभल्सका कन्सल्टेन्ट नारायण थापाको विशेष आतिथ्यता, इजरायलमा रहेका विभिन्न सामाजिक, धार्मिक तथा जातीय तथा संघ-संस्थाका प्रतिनिधिहरु, अनलाइन बेस-मिडियाका पत्रकारहरुको आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै प्रमुख अतिथि रामेश्वर पौडेलले इजरायल आगमनसंगै राष्ट्रिय कलाकारहरु उपस्थित कार्यक्रममा सहभागी हुन पाउनुमा गर्व महसुस गर्दै विभिन्न शिलशिलामा प्रवासमा छरिएऱ रहेका नेपालीहरुमा एकता कायम राख्दै नेपाली भाषा, साहित्य, कलाको संरक्षणकोलागि यस्ता किसिमका कार्यक्रमहरु भइरहनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै इजरायल भ्रमणमा रहनुभएका श्रम विभागका निर्देशक जनक घिमिरेले कार्यक्रममा आफूलाई पनि आमन्त्रण गरी केही बोल्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो । उहाँले इजरायलमा नेपालीहरुले गरिरहेको सेवाको कामले आफूहरुले विश्व समुदायमा नाक ठाडो पार्न सफल भएको बताउनु हुदै आफ्नो लगनशिलता र मिहनेतले विदेशीहरु माझ नेपाल र गौरव वढाउने कार्य गर्दै आएको बताउदै आउदा दिनमा अझ राम्रो गर्न शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै एनआरएनए एनसिसी इजरायलका बरिष्ठ उपाध्यक्ष विशाल ज्ञलालीले व्यस्त समयका वावजुध पनि कार्यक्रममा उपस्थिती जनाइदिएकोमा प्रमुख अतिथि नेपाली राजदूतावासका काउन्सिलर रामेश्वर पौडेल लगायत दूतावास परिवार, श्रमका निर्देशक जनक घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, मिडियाकर्मीहरु, लगायत उपस्थित सम्पूर्ण सम्पूर्णमा नयाँ बर्षको शुभकामना सहित हार्दिक स्वागत गर्नुभएको थियो ।

त्यस्तै औपचारिक कार्यक्रमको समापन गर्नुहुदै सभापती दिपक प्रसाद ओलीले इजरायलवासी नेपालीहरुले आफूहरुसँग निकै नै आशा राखेको बताउनुहुदै चुनावको बेला आफुहरुले गरेका प्रतिवद्दताहरुमा अधिकांश प्रतिवद्दताहरु पुरा गरिसकेको जिकिर गर्नुभयो । उहाँले कुनै वेला एनआरएन अर्धचेत अवस्थामा रहेको आशय व्यक्त गर्दै अहिलेको अवस्थामा इजरायलमा रहेका नेपालीहरुलाई समस्या पर्दा एनआरएन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था नरहेको बताउनुभयो । ओलीले एनआरएनए इजरायलले इजरायलवासी नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुई वटा वकिलको व्यवस्था गरिसकिएकोले अव आफूलाई परेको समस्याको समादानकोलागि एनआरएनए इजरायलको सचिवालयमा सम्पर्क गर्न सकिने बताउनुभयो । उहाँले कार्यक्रम सम्पन्न गर्न अहोरात्र खटिनुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, सहआयोजक संघ संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, मिडियाकर्मीहरु, कार्यक्रमको प्रमुख प्रायोजक याद वेयाद, उपहार प्रायोजक नेपाल टूर्, एण्ड ट्राभल्स लगायत उपस्थित सम्पूर्ण दर्शक दिर्घाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए इजरायलका कोषाध्यक्ष तारा काउचा मगरले परिषद्को बार्षिक कुल ५९ हजार ९ सय ६ शेकेल (इजरायली मुद्रा) आम्दानी तथा १७ हजार ६ सय ६४ शेकेल खर्च सहितको आर्थिक आय-ब्यायको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका दौरान एनआरएनए एनसिसी इजरायलको आधिकारीक वेबसाइट सार्वजनिक गरिएको थियो । www.nrnaisrael.org domain रहेको उक्त वेबसाइट मार्फत इजरायलवासी एनआरएनहरुले एनआरएनए इजरायल लगायत विश्वका अन्य मुलुकहरु तथा मातृभुमी नेपालमा एनआरएनएले गर्ने गरेका गतिविधिहरुको बारेमा आधिकारिक रुपमा जानकारी पाउनुका साथै इजरायलवासी नेपालीहरुका आफ्ना समस्याहरु पनि अनलाइनबाटै राख्न सकिने व्यवस्था गरिएको प्रवक्ता संगिता वलीले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो ।

स्थानीय कलाकारहरुको शुन्य सहभागिता रहेको सो कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुतिले भरपुर मनोरंजन दिलाएका थिए ।। उक्त मनोरञ्जनात्मक कार्यक्रममा चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेलको हास्य-व्यंग्यात्मक गीतहरुले दर्शकलाई खुवै मनोरञ्जन दिलाउन सफल भए भने नबोदित गायिका मेलिना राइले आफ्ना सुरिला गीतको प्रस्तुति तथा कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेकी चर्चित डान्सर तेरिया मगरको नृत्यले दर्शकहरुलाई खुवै झुमाएको थियो ।

औपचारिक कार्यक्रमको क्रममा आयोजक एनआरएनए एनसिसी इजरायल तथा सह आयोजक संघ संस्थाहरु मगर समाज इजरायल, नारीका लागि नारी १ करोड अक्षयकोषले राष्ट्रिय कलाकारहरुलाई खादा ओढाउदै सम्मान पत्र दिदै सम्मान गरेका थिए भने कार्यक्रमका दौरान उपस्थित दर्शकविच भाग्योदय राफल चिठ्टा पनि खोलिएको थियो । नेपाल जाने आउने टू वे हवाई टिकट लगायतका उपहारहरु राखिएको उक्त राफल चिठ्टा पर्नेहरुमा प्रथम पुरस्कार हवाई टिकट प्राप्त गर्नेमा पुनम गुरुङ रहेकी छिन् भने द्वितिय पुरस्कार आइ प्याड प्राप्त गर्नेमा लक्ष्मी लामा रहेकी छिन् । त्यस्तै तृतिय पुरस्कार डेड सीस्थित चार तारे होटलमा सम्पूर्ण सुविधा सहित दुई जनालाई दुई दिन वस्ने व्यवस्थाको उपहार प्राप्त गर्नेमा जिनु सिटौला रहेकी छिन् । चौथो पुरस्कार हाइफा सिटीस्थित चार तारे होटलमा सम्पूर्ण सुविधा सहित दुई जनालाई बस्ने व्यवस्थाको उपहार शोभा प्रसाईले प्राप्त गरिन भने पाचौ पुरस्कार १ जनालाई १०० डलर नगद पुरस्कार प्राप्त गर्नेमा माया खनाल रहेकी थिइन । त्यस्तै उपहार प्रयोजक नेपाल टूर्स एण्ड ट्राभल्सले उपस्थित सम्पूर्णलाई key Ring, Coffee cup, Pen लगायतता उपहारहरु समे प्रदान गरेको थियो । उपहार विजेताहरुलाई श्रम विभागका निर्देशक जनक घिमिरेले उपहार हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा एनआरएनए एनसिसी इजरायलको बैठकले रिक्त पदपूर्तिकोलागि चयन गरेका पदाधाकिरी तथा सदस्यहरु तथा सल्लाहकार समिति सदस्यहरुलाई अध्यक्ष दिपक प्रसाद ओलीले प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाणपत्र पाउनेहरुमा प्रबक्ता संगीता ओली , महिला प्रतिनिधि सुजाता गौतम, सदस्य खुमनानद दगासे ( गणेश पौडेल ), सदस्य मधुकर अधिकारी, प्रमुख सल्लाहकार नवराज खड्का, मनोज खरेल र सल्लाहकारश्री कृष्ण भण्डारी रहेका छन् ।

कार्यक्रम एनआरएनए एनसिसी इजरायलका महासचिव तेन्जिङ शेर्पा सचिव बिनोद घिमिरेले अत्यन्तै मनोरञ्जनात्मक शैलीमा संचालन गरेका थिए ।